चैत्र ३, २०७७ Bikram Shahi
काठमाडौँ — पुष्पकमल दाहाल २०४६ यता पार्टीको नेतृत्वमा अविच्छिन्न छन् तर उनले नेतृृत्व गरेको पार्टीको संख्या भने सात पुगिसकेको छ । अहिले उनले सम्हालिरहेको नेकपा माओवादी केन्द्रको पनि नाम फेर्ने चर्चा चलिरहेको छ, भलै यो विषयले जारी केन्द्रीय कमिटी बैठकमा औपचारिक प्रवेश पाएको छैन ।
२०४६ मा नेकपा (मशाल) को महामन्त्री भएका दाहाल २०४८ मा नेकपा (एकता केन्द्र), २०५१ मा नेकपा माओवादीको महामन्त्री र २०५७ मा नेकपा माओवादीको अध्यक्ष बने । २०६५ मा एकीकृत माओवादीको अध्यक्ष बनेका उनी २०७३ मा माओवादी केन्द्र बन्दा पनि अध्यक्ष नै भए । २०७५ मा माओवादी केन्द्र र एमालेको एकतापछि नेकपा बन्यो । त्यसको अध्यक्ष पनि दाहाल नै भए । गत फागुन २३ मा सर्वोच्चको फैसलाले उनलाई नेकपाको अध्यक्षबाट पुनः माओवादी केन्द्रको अध्यक्षमा पुनर्वहाली गरिदियो । लगत्तैको पहिलो केन्द्रीय कमिटी बैठकमा फेरि पार्टीको नाम परिवर्तनको कुरा उठेको हो ।
यद्यपि ३० वर्षदेखि विभिन्न रूप र आकारका कम्युनिस्ट पार्टीमा एकछत्र राज गरिरहेको नेतृत्व फेर्ने कुरा भने त्यो पार्टीमा भइसकेको छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिस्टहरूलाई एउटा सिंगो कम्युनिस्ट केन्द्र बनाउनका लागि सबैलाई स्वीकार्य हुने नाम चाहिने भएकाले त्यसबारे छलफल चलाइएको बताए । ‘हामीले त नेपालका कम्युनिस्टहरूलाई एउटै बनाउने भनेर पहल गर्यौं, कम्युनिस्ट आन्दोलनलाई विसर्जन गराउन विभिन्न कोणबाट प्रहार गरियो, अदालतको गैरजिम्मेवारपूर्ण राजनीतिक निर्णयले पनि एमाले र माओवादीलाई छुट्याइदियो,’ श्रेष्ठले भने, ‘हामी माओवादी केन्द्र मात्रै होइन, सबै कम्युनिस्टको केन्द्र बनाऔं भनेर लागेका छौं तर अहिले यो सामान्य छलफलको विषयका रूपमा मात्रै उठेको छ ।’
डेढ/दुई सय वर्षअघि के थियो, त्यही बोकेर हिँड्दा नामको खास अर्थ देखिँदैन । नामबाट विचार झल्किनुपर्ने हो, त्यो पनि उल्टो छ । – राजेन्द्र महर्जन, लेखक
नेपालमा कम्युनिस्ट पार्टी बनेको दुई वर्षपछि अर्थात् २००८ सालदेखि नै कम्युनिस्ट नामको पछिल्तिर फुर्को जोड्ने गरी टुटफुट सुरु भएको हो । ००६ सालमा बनेको कम्युनिस्ट पार्टीले आकार लिई नसक्दै दुई वर्षमै लाल कम्युनिस्ट पार्टी बनेको थियो । २०१९ सम्म एउटै भए पनि त्यसपछि कम्युनिस्टहरू तितरबितर भए, रंगीचंगी नाम आए । कसैले नेकपाका पछाडि नेताको नाम जोड्न थाले, कसैले महाधिवेशन । जस्तो : नेकपा पुष्पलाल समूह, नेकपा चौम (चौथो महाधिवेशन) । एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने यसरी विभिन्न नाममा कम्युनिस्टहरू छरिनुले उनीहरूको विचलनको हद कतिसम्म रहेछ भनेर देखाउने बताउँछन् । ‘हामीकहाँ सिद्धान्तको बहस कम, व्यक्तिगत टकराव धेरै भए, व्यक्तिगत टकरावलाई सिद्धान्तको लेपन लगाएर छोप्न कम्युनिस्टलाई सजिलो पनि भयो,’ न्यौपानेले भने, ‘कम्युनिस्टहरूका अनेकखाले नामले पनि हामी कति धेरैपटक फुटेछौं भनेर देखाउँछ ।’
विश्वको कम्युनिस्ट इतिहास र नेपालकै पनि इतिहास हेर्दा कम्युनिस्टहरूले नाम फेर्ने तीनवटा कारण छन् । पहिलो, नाममा बदनाम भएर । उनीहरू नियत त्यही राखेर नाम फेर्दा रहेछन् । दोस्रो, पार्टी फुटेको फुट्यै गरेर । तेस्रो, पार्टीहरूले बिस्तारै कम्युनिस्ट विचारधारा परिवर्तन गरेर ।
विश्व कम्युनिस्ट आन्दोलनको सुरुवाती चरणमा युरोपभर कम्युनिस्टहरूले आफूलाई समाजवादी भन्थे तर विधि एउटा र व्यवहार अर्कै हुँदा समाजवाद नै विवादमा पर्यो । त्यसबेलाको राजनीतिक वातावरणमा समाजवाद विवादित भएकाले कम्युनिस्ट नाम लेख्न थालिएको एंगेल्सले आफ्नो घोषणापत्रमा लेखेका छन् । त्यही घोषणापत्रको पहिलो प्रयोगकर्ता लेनिनले पार्टीको नाम सामाजिक जनवादी पार्टी राखेका थिए । पछि सन् १९१७ मा सामाजिक जनवादी शब्दावली नै बदनाम भएपछि लेनिनले लेख लेखेरै पहिल्यै प्रयोग गरेको शब्द प्रयोग गर्न थालेको बताए र फेरि कम्युनिस्ट पार्टीकै रूपमा गतिविधि हुन थाल्यो ।
हामीकहाँ सिद्धान्तको बहस कम, व्यक्तिगत टकराव धेरै भए । व्यक्तिगत टकरावलाई सिद्धान्तको लेपन लगाएर छोप्न कम्युनिस्टलाई सजिलो पनि भयो । कम्युनिस्टहरूका अनेकखाले नामले हामी कति धेरै पटक फुटेछौं भनेर देखाउँछ । – केदार न्यौपाने, केन्द्रीय सदस्य, एमाले
लेखक तथा विश्लेषक आहुति अहिलेको नेपाली सन्दर्भमा कम्युनिस्टहरूले कम्युनिस्ट हुनका लागि चाहिने आधारभूत मान्यता छोड्दै गएकाले नाम पनि त्यहीअनुसार सबैलाई मिल्ने खोज्न थालेको बताउँछन् । ‘कम्युनिस्ट हुन आवश्यक आधारभूत चिज छोड्दै जाने भनेको कम्युनिस्ट वर्गभन्दा अरूलाई चित्तबुझ्दो बन्दै जानु हो, अरू भनेको मध्यमवर्ग र दलाल पुँजीपति वर्गलाई चित्त बुझाउनुपर्ने भन्ने हुन्छ,’ आहुतिले भने, ‘पार्टीभित्रै विभिन्न वर्ग तयार हुन्छन् । उनीहरूको सिद्धान्त नै फरक पर्दै जान्छ । त्यसले पार्टी फुट्ने भइहाल्यो । फुटेपछि नाम परिवर्तन गरिहाल्छन् ।’
भूमिगतकालीन आन्दोलनमा टुक्रा टुक्रामा रहेका कम्युनिस्ट पार्टीहरू २०४६ को परिर्वतनपछि एकीकृत हुन थालेका थिए । २०४७ मा मदन भण्डारी नेतृत्वको नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादीबीच एकता भयो । एकता बैठकमा पार्टीको अबको कार्यक्रम के हुने भन्ने विषयभन्दा धेरै चर्चा पार्टीको नाम के राख्ने भन्नेमा चल्यो । ‘मार्क्सवादी पार्टी र माले २०४७ मा एकीकृत पार्टी बन्ने बेलामा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी हुनुभयो । अरू विषय टुंगिएपछि नाम के राख्ने त भन्ने कुरा उठ्यो । हामीले नेकपा माले नै राख्ने भन्यौं । नामका लागि किन लडाइँ गर्ने ? अर्को नाम राख्दाखेरि पहिचान गर्न धेरै समय लाग्छ भन्ने महासचिव भण्डारीको पनि भनाइ थियो,’ नेता न्यौपाने त्यो बेलाको बैठक स्मरण गर्छन्, ‘तर मनमोहन अधिकारीले मार्क्सवादीको हैसियत सकियो नि त, हामी विलय भएजस्तो पो देखिने भयो त भनेर मान्नुभएन । त्यसपछि हामीले ‘एकीकृत मार्क्सवादी र लेनिनवादी’ नाम राख्यौं । त्यसैले नाममा केही छ, नाममा पहिचान छ ।’
संरचना परिवर्तन गर्छौं भनेर भूमिगतकालीन राजनीति गरेका कम्युनिस्ट पार्टी खुला भएपछि आफैं फेरिए । उनीहरू फेरिने क्रममा नाम पनि फेरिँदै गयो । ०५१ मा एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका गएका बेला अमेरिकीहरूले पार्टीको नाम परिवर्तन गर्न दबाब दिएको रिपोर्टिङ उनले फर्किएपछिको पार्टी बैठकमा गरेका थिए । त्यसमा ‘नेकपा हाम्रो ट्रेडमार्क मात्रै हो भनेर मैले अमेरिकीहरूलाई भनेँ’ भन्ने अधिकारीको भनाइ विवादमा आएको थियो । ०५७ मा एमालेमा पार्टीको नाम र झन्डा फेर्ने प्रस्ताव आएको थियो । त्यो प्रस्ताव कार्यकर्तास्तरबाट व्यापक विरोध भएपछि फिर्ता भएको एमाले पोलिटब्युरो सदस्य विजय पौडेलले बताए ।
शाहीकालका बेला नेपालका लागि तत्कालीन अमेरिकी राजदूत माइकल ई मालिनोव्स्की एमाले नेताहरूलाई भेट्न पार्टी कार्यालय बल्खु जाँदा बैठक कक्षको भित्तामा झुन्ड्याइएको कम्युनिस्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन, स्टालीन र माओत्सेतुङको फोटो थिएन । पार्टीमा बेलाबेला नाम र झन्डा फेर्ने बहस चल्नु र अमेरिकी राजदूत भेट्न जाँदा कम्युनिस्ट नेताहरूको फोटो हटाउनु संयोग मात्रै हुन सक्दैन भन्ने रिपोर्टिङ त्यो बेलाका सञ्चार माध्यममा भएको थियो तर धूलो लागेकाले पुछ्न ती फोटा निकालिएको अभिव्यक्ति नेताहरूले दिएका थिए, पछि यो विषय यत्तिकै सेलायो ।
एमाले व्यवहारतः कम्युनिस्ट नामधारी बुर्जुवा पार्टीका रूपमा विकसित हुँदै गयो । यद्यपि, यो पार्टीले आफ्नो नामका अघिल्तिर जोडिएको नेकपाको फुर्को भने अमेरिकी राजदूत भेट्न आउँदा भित्ताको फोटो निकालेझैं निकालेन । बरु जनकपुरमा सम्पन्न सातौं महाधिवेशनपछि पार्टी विधानबाटै समाजवाद र साम्यवाद भन्ने शब्द गायब पारियो । कार्यकर्ता स्तरबाटै विरोध भएपछि छपाइका क्रममा गल्ती भएको भन्दै त्यसलाई सच्याइएको थियो ।
एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्चले अवैधानिक भनिदिएपछि अहिले फेरि एमाले नै छ तर फुटको संघारमा । लेखक राजेन्द्र महर्जन पार्टीहरू मुलुकको वस्तुस्थिति नै नबुझी नाम राख्ने गरेकाले ती नाम कम्युनिस्ट पार्टीको व्यवहारबीचमा तालमेल नै नमिल्ने बताउँछन् । ‘युरोपमा कम्युन भन्नेबित्तिकै कम्युनिस्ट भन्ने भयो, नेपालमा कम्युनले सामूहिकतालाई पनि बुझाउँदैन । नेपालको खास वस्तुस्थिति के हो, त्यसलाई राम्रोसँग सम्बोधन के हुन सक्छ, त्यस्तो टिप्नुपर्ने हो भन्ने लाग्छ,’ महर्जनले भने, ‘हामी रूढिवादी नै भयौं । डेढ/दुई सय वर्षअघि के थियो, त्यही बोकेर हिँड्दा नामको खास अर्थ देखिँदैन । नामबाट विचार झल्किनुपर्ने हो, त्यो पनि उल्टो छ ।’
७० वर्षको यात्रामा कम्युनिस्टको जति फुटेको इतिहास छ, जुटेको पनि देखिन्छ । जुट्दा र फुट्दा पनि उनीहरूले राख्ने नाम फरक हुन्छ । २०७५ जेठमा एमाले र माओवादी जुट्दा नामको पछाडि पुच्छर जोड्न नसकेरै उनीहरूले नेकपा मात्रै राखे । निर्वाचन आयोगमा त्यसैको लफडा पर्यो । कम्युनिस्टहरूको विचारमै विचलन भएकाले नाममा पनि त्यसको प्रतिबिम्ब देखिने माओवादी केन्द्रका नेता राम कार्की बताउँछन् । ‘फुटेका बेला असाध्यै क्रान्तिकारी नाम हुन्छ ।
जुटेका बेलामा सबैले अपनत्व फिल गर्ने गरी नाम राखिन्छ । फुट्ने बेलामा अतीत सम्झिने गरिन्छ,’ कार्कीले भने, ‘अब तीन वर्षअघि नै जबज र माओवाद छोडेर एक भएका नेकपाका नेता फर्केर त्यही स्थितिमा पुग्नु त पश्चगमन हो नि । नयाँ ठाउँमा पुग्यौं, नयाँ पार्टी बनाउँछौं भनेर अघि बढ्नुपर्नेमा छुट्टिनेबित्तिकै हाम्रै जबज जिन्दावाद भन्ने त त्यति वस्तुनिष्ठ देखिएन नि ।’ उनका अनुसार नामले पार्टीको विचारधारा पनि बोक्नुपर्ने भएकाले नाममा केही त छ तर कम्युनिस्टको घोषित नीति एकातिर र व्यवहार अर्कातिर भएकाले नाममा खास केही छैन ।
प्रकाशित : चैत्र ३, २०७७
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI